शिवशङ्कर मानन्धर (वि.सं. १९८८ साल फागुन ११ गते - वि.सं. २०६१ साल कार्तिक २१ गते) एक नेपाली गायक, सङ्गीतकार र प्रथम नेपाली चलचित्र आमाको प्रमुख भूमिका निर्वाह गर्ने अभिनेता थिए । ५० वर्ष भन्दा बढी आफ्नो कार्यमा सक्रियता देखाएका शिवशङ्कर नेपाली सङ्गीतको क्षेत्रमा एक प्रसिद्ध नाम बनेका छन् ।
प्रेम प्रसङ्गयुक्त गीत, भजन, वियोगान्त गीत तथा देशभक्त झल्काउने गीतहरू लेखी उनले आधुनिक नेपाली सङ्गीतमा लोकप्रिय विभिन्न किसिमका गीतहरूलाई प्रख्यात बनाउने काम गरेका थिए । उनले सरदार १,२०० गीतहरू रचना गरेका थिए जसमध्ये उनले आफैँ ३०० जति गाएका थिए । नेपाली सङ्गीतमा पुर्याएका योगदानका लागि मानन्धरलाई थुप्रै प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूबाट पुरस्कृत गरिएको थियो ।
वि.सं. २००७ मा मानन्धरलाई नेपाल सरकारको स्वामित्वमा सञ्चालित रेडियो नेपालमा प्रसिद्ध नाट्यकर बालकृष्ण समद्वारा नयाँ गायकहरूलाई प्रशिक्षण दिने र रेडियोमा प्रसारण हुने गीतहरूको निरीक्षण गर्ने काममा नियुक्त गरिएको थियो । सहकर्मी नातिकाजीसँग मिलेर उनले रेडियो नेपाललाई आधुनिक नेपाली सङ्गीतको रचानास्थल बनाए । बीसौँ शताब्दीको दोस्रो भागमा लोकप्रिय बनेका धेरैजसो गायक तथा सङ्गीतकारहरू यही संस्थानबाट चर्चामा आएका थिए । दार्जिलिङका सङ्गीतकारलाई पनि प्रख्यात बनाउनमा ठूलो भूमिका निर्वाह गरेको थियो ।
रेडियो नेपालको कार्यकालमा मानन्धरले तारादेवी, मीरा राणा, निर्मला श्रेष्ठ, ज्ञानु राणा, अरुणा लामा, कुन्ती मोक्तान, गङ्गा मल्ल, पुष्प नेपाली, नारायणगोपाल, प्रेमध्वज प्रधान, योगेश वैद्य, उदित नारायण, ध्रुव केसी, मनिक रत्न, दीप श्रेष्ठ, भक्तराज आचार्य, बच्चु कैलाश, रुबी जोशी र दीपक बज्राचार्य लगायत कयौँ लोकप्रिय नेपाली गायकका लागि गीत रचना गरेका थिए । उनले राममान तृषित, किरण खरेल, भावुक, यादव खरेल, लक्ष्मण लोहनी र एमबीबी शाहका लागि पनि सङ्गीतको रचना गरेका थिए । आफ्नो ५० वर्षको कार्यकालमा उनले नेपाली सङ्गीतलाई "स्वर्ण युग" मा पुर्याउन सहयोग पुर्याएका थिए ।
लोकप्रिय धुनको रचनाका साथै मानन्धरले सङ्गीतमा नयाँ परिवर्तनहरू ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । वाद्ययन्त्रको अभावमा पनि कसरी लोकगीतको रचना गर्ने भन्ने पहिलो पटक पटक गर्ने मानन्धरले प्राचीन नेपाली साङ्गीतिक शैलीमा पप सङ्गीतको मिश्रण गर्ने शैलीको परिचय दिएर नेपाली सङ्गीतको आधुनिकीकरण गरेका थिए । यद्यपि, उनले आधुनिकीकरणको क्रममा नेपाली सङ्गीतको मौलिकतालाई चाहिँ बिर्सनुहुँदैन भन्ने मान्यता राख्थे ।
मानन्धरले वि.सं. २०२१ मा नेपाल सरकारद्वारा निर्मित प्रथम नेपाली चलचित्र आमामा "लाहुरे दाइ" को भूमिका निर्वाह गरेका थिए । यद्यपि, उनले अभिनयमा भन्दा पनि गीत रचनालाई नै प्राथमिकता दिए । दुई-तीन वटा वृत्तचित्रमा उनको विशेष उपस्थिति रहेको छ । नेपाली चलचित्रको प्रारम्भिक कालमा उनले चलचित्रका लागि टन्नै गीतहरूको रचना गरेका थिए ।
राष्ट्रिय पुरस्कार
- अल नेपाल सङ्गीत प्रतियोगितामा प्रथम स्थान (वि.सं. २०१९)
- सर्वश्रेष्ठ सङ्गीत रचना पुरस्कार (वि.सं. २०२०, वि.सं. २०२१, वि.सं. २०२५ र वि.सं. २०२७)
- महेन्द्ररत्न आभूषण (वि.सं. २०२२)
- गोरखा दक्षिण बाहु (वि.सं. २०३५)
- छिन्नलता पुरस्कार (वि.सं. २०४३)
- गुणराज सङ्गीत पुरस्कार (वि.सं. २०४३)
- त्रिशक्ति पट्टा (वि.सं. २०५३)
- नेपाल चलचित्र पुरस्कार (वि.सं. २०५६)
- इमेज लाइफटाइम अचिभमेन्ट पुरस्कार (वि.सं. २०५८)
- सुप्रदिप्ता वीरेन्द्र प्रजातन्त्र भास्कर (वि.सं. २०६०)
- नातिकाजी स्मृति पुरस्कार (वि.सं. २०६१)
सम्मान
- नेपाल चलचित्र कलाकार सङ्घ (वि.सं. २०५०)
- साधना सम्मान, साधना कला केन्द्र (वि.सं. २०५४)
- रेडियो नेपाल (वि.सं. २०५५)
- रेडियो नेपालको स्वर्ण जयन्ती सम्मान (वि.सं. २०५६)
- नेपाल सम्मान, सगरमाथा एकेडमी (वि.सं. २०५७)
- काठमाडौँ महानगरपालिका वडा १३ (वि.सं. २०५७)
- आह्वान संस्थान (वि.सं. २०५७)
- महादेव सम्मान, केशव-सुष्मा भजन गुठी (वि.सं. २०५८)
चलचित्रका लागि गीत रचना
- आमा (नातिकाजीको साथ)
- मनको बाँध (नातिकाजीको साथ)
- कुमारी (चन्द्र राजको साथ)
- पच्चीस वसन्त (नातिकाजीको साथ)
- शान्तिदीप (नातिकाजीको साथ)
गीति नाटक
| नाम | गीतकार |
|---|---|
| आशीर्वाद | लक्ष्मण लोहनी |
| नालापानीमा | बालकृष्ण सम |
| परीक्षा | तुलसी दिवस |
| स्वोंगु नगु | दुर्गालाल श्रेष्ठ |
| सुलोचना | श्याम दास वैष्णव |
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7499251
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “शिवशङ्कर मानन्धर।” नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%B6%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). शिवशङ्कर मानन्धर. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%B6%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%B0
@misc{ne_580,
title = {शिवशङ्कर मानन्धर},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%B6%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%B0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}