पर्वत राज्य वा १६००० पर्वत राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा पर्बते मल्ल ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा आनन्द बम/वर्मा (स्थानीय लेखोटमा आनम्म) थिए जो सल्यान राज्यका तेस्रो राजा थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए । राजा डिबम/डिम्ब बमले वि.सं. १५४५ मा तक्मेली मगरहरूको सहयोगमा थापा क्षत्रीहरूको ताकम राज्य यस राज्यमा गाभेका थिए । इ.स. १७८६ मा नेपाल अधिराज्यमा गाभियो। १८९४ मा राजा राजेन्द्रले लालमोहर गर्दा सल्यान सहित पर्वतका राजा सन्तानले पनि रजौटा मान्यता पाए। वि.सं. २०१७ मा पर्वत राज्य रजौटा उन्मूलन भयो ।
बहादुर शाहको नायबीकालमा १८४३ आश्विन १३ मा पर्वतमा नेपालको अधिकार भयो। बागलुङको लडाइँमा केवल ४५ गोर्खाली र २ सय जति पर्वते सैनिक वीरगति भएपछि कीर्तिबम मल्ल भागे र रियासत छोडिदिए। १८९४ मा राजा राजेन्द्रबाट विजयबमलाई केही गाउँ मानाचामलमा दिइयो ।
इतिहास
बि.सं १४९३ मा आनंपृम बमले यो राज्यको स्थापना गरेका थिए। आनंपृम बम पछि चन्द्र बम, दिलिप बम हुदै चौथो पुस्तामा नाग बमदेखि मात्र मल्ल लेख्न थालिएको थियो।
युवराज छँदा नागराजले दिल्लीका सुल्तान सिकन्दर खान लोदी (लोदीको शासनकाल विसं १५४६-१५७४)को दरवारमा उनले देखाएको पहलमानीबाट प्रभावित भै सम्मान स्वरूप 'मल्ल' पदवी पाएका थिए। त्यसबेला देखि नाग बमले आफ्नो नाम पछाडि मल्ल राख्न शुरु गरेका थिए। नाग बम मल्ल पछि सबै राजाले मल्ल लेख्न थालेको पाइन्छ। नाग बमको पर्वते राज्य विस्तारमा महत्वपूर्ण भूमिका रहेको थियो ।
कीर्तिबम मल्ल एक बहादुर र चतुर राजा थिए। उनले गोरखालाई पटक पटक हराएका थिए। बि.सं. १८२८ मा गोरखाले चौबिसे राज्यहरू लगभग जितिसकेको अवस्थामा पर्वतले नै स्थिति उल्टाएर गोरखालाई पराजित गरेको थियो। गोर्खालीसँग हारेर भागेका ढोर, पैयु लगायत राज्यका राजाहरूलाई पर्वतले नै शरण दिएको थियो। नेपालसँग आश्रित सन्धि गरिसकेकका भीरकोट, सतहुँ, गह्रौँ, रिसिङ र घिरिङ आदि क्षेत्रका योद्धाहरूलाई आफ्नो पक्षमा ल्याए। बि.सं. १८२८ पौष ५ मा कीर्तिबम मल्लले नेपाली सेनामाथि आक्रमण गरे। त्यो लडाइँमा काजी केहरसिंह बस्न्यात लागायत ५०० नेपाली काटिए। काजी वंशराज पाँडे युद्धबन्दी भए। त्यस लडाइँमा बचेका सिपाहीले ढोर राज्यमा शरण लिए। पर्वतले ढोरमा पनि आक्रमण गरिदिएको हुनाले नेपालीहरू नराम्ररी हारे। नेपालीहरू भीरकोट, गह्रौं, पैयूँ र रिसिङ छोड्नुपर्यो। पर्वते राजाले हरुवा नेपाली सेनाका हतियार खोसी छोड्ने नीति लिए।
१८४२ मा पाल्पा र नेपालबीच सन्धि भएपछि नेपालको शक्ति बढ्यो।
गोरखाली फौजले वि.सं. १८४३ आश्विन ४ गते दक्षिण र पूर्वबाट पर्वतमाथि आक्रमण गरे । कीर्तिवम मल्लले केही दिनसम्म त प्रतिरक्षात्मक युद्ध वहादुरीका साथ लडे । तर आश्विन १४ गते पर्वतको राजधानी वेणी दखल भयो । । यस लडाईमा पर्वतका राजवंशका धेरैले ज्यान गुमाए। स्वयं कीर्तिबमका ५ भाइमा जंजाल, जामुनि र बौद्ध ३ भाइले वीरगति पाए । बाँकी बनयारी र वीरनारायण राजाकै सथमा गए । यिनी राज्य छोडी नवाव वजीरको राज्य क्लीरामपुरमा शरण लिन पुगे, जहां उनको मृत्यु भयो । यसरी पर्वत राज्य एकीकृत नेपाल अधिराज्यमा विलीन भयो । १९४३ मा यो राज्य नेपालमा विलय भयो।
शासन व्यवस्था
राज्यमा राजा प्रशासनको दृष्टिले सर्वोपरि थिए । प्रशस्तिमा श्रीमहाराजाधिराज मात्र भनिएको पाइन्छ । प्रशस्तिमा कहीं श्री, श्री ५ छन् त कहीं श्री ६ लेखिएको पनि पाइन्छ । कहीं श्रीमहाराजाधिराज नभनी 'श्रीमहाराजा मात्र भनिएको पनि पाइन्छ । राजा युद्ध संचालन गर्न वा अरु कुनै काम विशेषले एक स्थानबाट अर्को स्थानमा दौडाहा गर्दथे । उक्त कुरा विभिन्न स्थानलाई मुकाम बनाई जारी गरिएका अभिलेखबाट थाहा पाइन्छ।
काजी भनेका मंत्री हुन्। राजालाई शासन चलाउनाका लागि चौतारा र मंत्रीहरूको मंत्रिपरिषद् रहन्थ्यो । पर्वत राज्यमा काजी पद हुन्थ्यो। यो पद राजपरिवारमा मात्र सीमित रहेको देखिन्छ । ताम्रपत्रमा ६ जनासम्म काजीको नाम पाइन्छ। तर जेठा काजी भनी उल्लेख परेकोले काजीको पनि विभिन्न तह थियो भन्ने थाहा हुन्छ ।
सैनिक गतिविधिको जिम्मेवारी सरदारलाई रहन्थ्यो। सरदारको मातहतमा उमरा, द्वारेहरू रहन्थे।
टक्सारीले छापी सकेका मुद्रा आदि खजांचीको जिम्मामा रहन्थ्यो । राजस्वमा आएका रकम खर्च गर्ने अधिकार खजांचीलाई हुन्थ्यो । पर्वतका राजाले गरि दिएका अभिलेखहरूमा विभिन्न समयमा विभिन्न व्यक्ति खजांची पदमा रही साक्षी वसेको देखिएकोले यस पदको पजनी हुन्थ्यो भन्ने देखिन्छ ।
तात्कालिक न्याय प्रशासनमा विचारीले न्यायाधीशको काम गर्दयो । विचारीलाई मुद्दा छिन्ने अधिकार हुन्थ्यो । पर्वत राज्यका विभिन्न प्रादेशिक एकाइमा विचारी नियुक्त हुन्थे। यसबाट विचारीलाई भूमि सम्बन्धी अधिकार पनि दिइएको थियो।
राजाहरू
पर्वत राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :
- राजा आनम्म (आनन्द बम/वर्मा) (१४३६ - ??)
- राजा चन्द्रम (चन्द्र बम/वर्मा)
- राजा डिबम/डिम्ब बम/ डिम्ब राय (??); फ्रान्सिस बुचानन ह्यामिल्टनले डिम्ब भनी लेखेका थिए
- राजा नागबममल्ल ( - ??); सन् १४७४ मा दिल्लीका बादशाहको अगाडि मल्ल (पहलमान) युद्घमा दिल्लीका पहलमानलाई जितेका थिए र मल्ल उपाधि पाएका थिए
- राजा पार्वती नारायण मल्ल ( ?? - )
- शाह मल्ल
- घनश्याम मल्ल
- मलेबम मल्ल (१७४३ देखि १७८९)
- राजा कीर्ति बम मल्ल ( वि.सं. १८१५- १८४२); उनको पालामा पर्वत राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
रजौटा राजा
- राजा विजय बहादुर मल्ल (?? )
- राजा चन्द्रबहादुर मल्ल
- राजा पृथ्वी बहादुर मल्ल (?? - १९२९)
- राजा दुर्गाबहादुर बम मल्ल
अर्थतन्त्र
धुरीकरबाट १४००० र उद्योगकर बाट १६००० वार्षिक आम्दानी हुन्थ्यो।
कृषि
तराई नहुनु र अधिकांश भू-भाग पर्वत पर्वतले ढाकिनु जस्तो भौगोलिक कारणले पर्वत राज्यमा कृषि योग्य जमीनको कमी रहेको थियो । कालीगण्डकी, म्याग्दी, मोदी, वडीगार्ड आदि नदीले बनाएको उपत्यका कृषि योग्य थियो भने पहाडमा केही पासा जमीन मात्र । यस कारणले पर्वतका बासिन्दाले राज्य बाहिरवाट कर तिरी साधान्न वैसाउनु पर्ने अवस्था आउथ्यो । जनसंख्याको अनुपातमा कृषि उत्पादन न्यून रहने हुँदा आवश्यक साधान्नको पूर्ति गर्न आवश्यक हुन्थ्यो भने कृषि उत्पादनका लागि वन पालन गर्न पनि उत्तिकै आवश्यक हुन्थ्यो ।
व्यापार
पर्वत राज्यताका कुश्माचौर र वागलुङ० व्यापारको दृष्टिले केन्द्र बनेका थिए । यी ठाउँमा नेवार व्यापारीहरू थिए । भारतबाट पर्वतको वेणी शहर मई शक्यामठ र त्यहावाट भोट पस्ने चल्तीको बाटो थियो । वेणीबाट कुश्माचौर, रिडी, पाल्पा, मोठ्याक, नुवाकोट हुँदै वुटवल पुग्ने बाटो चल्तीको थियो ।
पर्वत राज्यका चट्टानदार पहाडहरूमा तामा, फलाम, गन्धक, सिशा आदि विभिन्न प्रकारका खनिज पदार्थ रहेको हुँदा यी पदार्थको निकासा व्यापारबाट राज्यलाई निकै लाभ हुन्थ्यो । तामाको विक्री त राणाकालसम्म पनि हुँदै गरेको कुरो केही पत्रहरूबाट थाहा भएको छ । उत्पादन गरिएका खनिज पदार्थबाट राज्यलाई आवश्यक पर्ने कुटो, कोदालो आदि कृषि औजार र युद्धका लागि माला, खुकुरी आदि हतियार तयार गरिन्थे । पर्वतमा उत्पादन हुने घ्यू, फलाम, तामा, उनी कपडा आदि भारततर्फ र तामा चरेश आदि भोटतर्फ निकासा हुन्थ्यो । भारतवाट ल्याइने लत्ता कपडा मसला आदि वस्तु भोटतर्फ पठाइने हुँदा पर्वत राज्यको राजस्वमा वृद्धि भएको थियो । भेंडाबाख्रा आदि जन्तुको पशु व्यापार हुन्थ्यो । यस भेकका व्यापारी भारतको गोरखपुरसम्म पनि व्यापार गर्न पुग्दर्थे । ढुवानीको साधन नमएको त्यसवेला मानिस र खच्चड आदिद्वारा नै काम चलाइन्थ्यो । यसरी पर्वत राज्य व्यापारिक मार्गमा परेको हुँदा मन्सारबाट राज्यलाई निकै आर्थिक लाभ हुन्थ्यो ।
मुद्रा
राजा मले बमका पालामा तामाका पैसा प्रचलनमा आएको वि.सं. १७६५ को ताम्रपत्रवाट थाहा भएको छ । तात्कालिक पर्वत राज्यको राजधानी वेणी स्थित कोटमण्डारसँगै पश्चिमपट्टि टक्सार रहेको थियो ।
अन्य उल्लेखनीय व्यक्तिहरू
- मेजर जनरल प्रदिप प्रताप बम मल्ल, नेपाली सेनाका रथी, अन्तिम पर्वत राजाको भतिजा
बाह्य लिंक
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q97261941
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “पर्वत राज्य।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%A4_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). पर्वत राज्य. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%A4_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF
@misc{ne_775,
title = {पर्वत राज्य},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%A4_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
